बाल कथा : आँखा लागेको होइन आमा !

बाल सञ्चार

  • १२४ दिन अगाडि
  • २०७८ जेठ ११ मंगलबार

छोरो स्कुल जान्थ्यो । आमा भने दिनभरि ब्याउने गाईलाई बाङ्गे खोलाका किनारमा चराउँथिन् र साँझ त्यसै पोखरीमा पानी खुवाएर घर ल्याउँथिन् । अरुका गाइबस्तु पनि त्यसै पोखरीमा पानी खाएर घर फर्कन्थे । 

खडेरीले सेक्नु सेकेको थियो पानीखेती गाउँलााई । गाउँको बीचबाट बग्ने बाङ्गे खोलो सुकेर सानो नालीजस्तै बनेको थियो । धान रोप्ने कुरै आएन  । त्यसैले गाउँलेहरूले ठाउँठाउँबाट कुलो काटेर धनियाँ र सागपातका बारी भिजाइरहेका थिए । खोलामा भने ठाउँठाउँमा पानी जमेर दहहरू बनेका थिए । ती दहहरूमा तहर लागेर सतहको पानी टिलिक-टिलिक टल्किन्थ्यो । अलि तल, गाउँको पुछारतिर गाउँलेहरूले पोखरी खनेर त्यस खोलाको रहल पानी जम्मा पार्ने चाँजो मिलाएका थिए । त्यस मूल पोखरीबाट पाइप लगाएर चार-पाँच घरले माछापालन पनि गरिरहेका थिए । 

त्यसै गाउँको पछारतिर एउटी बूढी आमाको झोपडी थियो । उनको दसवर्षे छोरो थियो बिक्रम । उनले एउटा गाई पनि पालेकी थिइन् । त्यो गाई ब्याएपछि दूध बेचेर पैसा तिरौंला भनेर उधारै भए पनि छोरालाई स्कुल पठाइरहेकी थिइन् ।

छोरो स्कुल जान्थ्यो । आमा भने दिनभरि ब्याउने गाईलाई बाङ्गे खोलाका किनारमा चराउँथिन् र साँझ त्यसै पोखरीमा पानी खुवाएर घर ल्याउँथिन् । अरुका गाइबस्तु पनि त्यसै पोखरीमा पानी खाएर घर फर्कन्थे । 

उत्तिकैमा बिक्रमको स्कुल बर्खे बिदाका लागि भन्दै बन्द भयो । बर्खे बिदा भनिए पनि पानी भने फिट्टो परेको थिएन । बिदाका केही दिन त गाई ब्याउला भन्दाभन्दै बिते । नभन्दै केही दिनमा गाई ब्यायो पनि । बिक्रमका थप दुईचार दिन गाई ब्याएको समाचार सुनाउँदै र बिगौती खाएको कथा भन्दै बिते । तर, छुट्टी भने त्यति छिटै बितेन । 

विजय, सुयोग, अञ्जली र ऊ बिक्रम मिलेर बाङ्गे खोला किनारका सबै ऐंसेलु सिध्याए । गुएँलीले पनि धेरैदिन थामेनन् । त्यसपछि बिक्रमले समय काट्ने नयाँ काइदा सुनायो, “साथी हो, खोलामा माछा मारौं ।”

सबैले सहमती जनाए । बिक्रमकै निर्देशनमा विजयले बाँसका केही सुकेको भाटा, चेतनाले अलिकति सुकेको खर र सुयोगले एउटा सलाई ल्यायो । त्यसपछि उनीहरू खोलातिर लागे । 

पहाडको खोलो-दहहरू भने निकै गहिरा थिए । अँजुली र बाँसका खबटाले जति फ्याँके पनि पानी सुकाउनै हम्मे । घाम अस्ताउँदासम्म उनीहरूले दुईचारवटा गडेरामात्रै मारे । र,  त्यहीँ बगरमा आगो बालेर पोली खाए, र घर फर्के । छुट्टिने बेलामा बिक्रमले भन्यो, “भोलि खानासाना खाएर दस बजे मेरो घरमा आउनू है, अनि जानुपर्छ माछा मार्न ।”

सबैजना फेरि भोलिपल्ट जम्मा भए । आज भने बिक्रमले माछा मार्ने नयाँ काइदा सिकायो, “साथी हो, अडेरीको पात कुटेर दहमा हाल्यो भने माछा मर्छन् रे । त्यसै गरौं ।”

उनीहरूले त्यसै गरे । केही माछा त मरे, तर उनीहरूले सोचेजस्तो चाहिँ भएन । तै पनि माछा मार्ने क्रम रोकिएन । हरेक दिन उनीहरू जम्म हुन्थे । साँझसम्म एकपाउ जति माछा हुन्थे । पोलपाल पारेर खान्थे, र घर फर्कन्थे । 

माछा मार्ने यो नयाँ काइदाको बारेमा गाउँका अन्य केटाकेटीले पनि थाह पाएछन्, सिको गरे । एउटै दहमा दुई समूह भेला भएकोले एकदुई पटक त झगडै पर्न नखोजेको पनि होइन । 

अब स्कुल खुल्न एकदिन मात्रै बाँकी थियो । तर उनीहरूको माछा मार्ने धोको भने मेटिएकै थिएन । आज अन्तिम दिन, उनीहरू सकेजति माछा मार्न चाहन्थे । यत्तिकैमा सुयोगले भन्यो, “हाम्रो घरमा कीरा मार्ने धुलो छ । म लिएर आउँ? त्यसले मार्छ होला माछा ।”

बिक्रमले भन्यो, “जा ले । त्यसले पक्का मार्छ माछा ।”

नाइकेको निर्देशन पाउनेबित्तिकै सुयोग कुद्याे र केहीबेरमा कीरा मार्ने सेतो धुलो लिएर आयो । उनीहरूले अलिकति धुलो दहमा हाले । एकछिन पछि माछा पिर्लिक्क पिर्लिक्क गरेर मर्न थाले । आज भने उनीहरूको काम निकै छिटो अगाडि बड्यो । उनीहरूले एकदुई वटा होइन, आठ-दस वटै दहमा माछा मारे । गाउँको पुछामा रहेको पोखरीको छेउमा रहेको दहसम्म पुगे, तर पोखरीतिर भने लागेनन् ।

साँझसम्म निकै माछा मारे उनीहरूले । तर, जब पोलेर खाने कुरा आयो, बिक्रमले भन्यो, “यी माछा नखाऔं, साथी हो । बिष हालेका माछाले राम्रो गर्दैन ।”

सबै साथी निकै गम्भीर भएर सोचे, र बिक्रमको कुरालाई समर्थन गरे । चेतनाले भनी, “यतिको दुख गरेर मारेका माछा, के गर्ने त?”

सुयोगले तुरन्तै उत्तर दियो, “यहीँ छोडिदिऔं । अब घरमा लगेर कुकुरलाई दिऊँ भने पनि कुकुर बिरामी पर्ला, मर्ला । यहीँ राख्यो भने चरा-चुरङ्गीले खान्छन् ।”

विजयले सुयोगको कठालो समात्यो, “अनि चराचुरुङ्गीचाहिँ मर्दैनन्?”
सुयोगले निकै बेर सोच्यो र भन्यो, “तिम्रो कुरा ठीकै हो । उसो भए यी मरेका माछा जङ्गलतिर फ्याँकिदिऔं ।”

हुन त जङ्लतिर फ्याँक्दा पनि कमिलालागायतका कीरा-फट्याङ्ग्राले खालान् र मर्लान् भन्ने डर थियो बिक्रमलाई, तर उसले केही बेलेन । माछा जङ्गलमै फ्याँकियो । 

स्कुल खुल्यो र यो खेल बन्द भयो । भारी वर्षा भने अझै भएको थिएन । सिमसिम पानी भने फाट्ट-फुट्ट पर्यो र बाङ्गे खोलो अलिअलि सुसाएर बग्न थाल्यो । 

स्कुलबाट फर्कंदा बिक्रम आफ्नी आमालाई सधैँ त्यही गाउँको पुछारमा रहेको पोखरीमा उसलाई पर्खिबसेको भेट्थ्यो । आमा गाईलाई पानी खुवाएर घर लानुहुन्थ्यो । 

केही दिनपछि त्यस पोखरीबाट पानी लगेर सञ्चालन गरिएका पोखरीका माछा भटाभट मर्न थाले । चिबे चराले  ठुँगेर मरेका होलान भनेर किसानहरूले बुख्याँचा राखे । चरा धपाउने मान्छे पनि खटाए । तर माछा मर्ने क्रम रोकिएन । पीडित किसानले भाग्यलाई दोष दिए । 

बिक्रमको मनमा चिसो पस्यो । तर उसले पटक्कै केही भनेन । उसका साथीहरूले पनि ज्यान जाला भनेनन् । 
केही दिनपछि एक दिन साँझ भर्खर जन्मिएको बाछोले मुखमा फिँज काडेको देखियो । लगान लाग्यो होला भनेर आमाले धामी पनि लाउनुभयो । साँझ लसुन पनि कुटेर खुवाइयो । तर बिहान बाछो मरिरहेको भेटियो । 

गाउँका अन्य गाईबाछा पनि बिरामी परेको हल्ला चल्यो । बिक्रमको मनमा थप चिसो पस्यो । उसलाई भोकनिद्रा लाग्न छोड्यो । 

खुट्टे लगाएर आमाले दुईचार दिन दुहुनुभयो गाई । तर एक साँझ त्यो गाईले पनि फिँज काड्यो, र उज्यालो हुने बेलामा ड्वाँ गर्यो, र मर्यो । 

एउटा भएको गाई पनि मरेपछि ती बूढीसँग केही रहेन । धेरैबेर रोइन् उनी । बिक्रमलाई पनि नरामाइलो लाग्यो, र घुँकघुँक गरेर रोयो । 

सारै नरमाइलो लागेपछि बूढीले छोरालाई भनिन्, “हेर् छोरा । हाम्रो ब्याएको गाईमा कसैको आँखा लाग्यो । अरुका पनि गाईबाछा बिरामी पर्दैछन्, मर्दैछन् । अब यस ठाउँमा बस्नु ठीक छैन । हिँड्, केही दिन मावल बसौं अनि अर्को व्यवस्था गरौंला । त्यहाँबाट तेरो स्कुल पनि त्यति टाढा पर्दैन ।”

ढुङ्गो बोल्ला, बिक्रम बोलेन । ऊ टाउको निहुर्याएर बसिरह्यो । बूढीले पोका-पत्यौरा बाँधिन र मूल ढोकामा ताल्चा मारिन् । 

दुवै हिँडे मावलतिर । तल्लाघर मरेको गाई पुर्न मान्छेहरू खाल्डो खन्दैथिए । उँभोतिर “लौ, बाछालाई के भयो?” भन्दै मानिसहरू कराइरहेका थिए । तर उनीहरू कतै नहेरी, कसैको नसुनी आफ्नै सुरमा हिँडिरहे । अलि पर, उनीहरूको बारीको सिमानामा पुगेर दुवै रोकिए, फर्केर आफ्नो घरलाई एकपल्ट पुलुक्क हेरे, र आँखाभरि आँसु पारेर अगि बढे । 

तल, गाउँको पुछारको पोखरीमा पुगेपछि बूढी रोक्किइन् । केहीबेर पोखरीतिर हेरिन र भनिन्, “बाबु, हेर् । यही पोखरीमा पानी खान्थ्यो नि हाम्रो गाई । कसको आँखा लाग्यो...।”

त्यसपछि बूढी ह्वाँ गरेर रुन थालिन् । त्यो देखेर बिक्रमले पनि मन थाम्न सकेन, ऊ पनि खूब रोयो । केहीबेर पछि आँसु पुछ्दै भन्यो, “आमा, कसैको आँखा लागेको होइन ।”

“अनि के भाको त बा?”
त्यसपछि रुँदै-रुँदै बिक्रमले आमालाई सारा कथा सुनायो र उनकै मजेत्रोको छेउले आँसु पुछ्यो । 

कथाकार : महेश पौड्याल ।