बालश्रम विरुद्धको अन्तर्राष्ट्रिय दिवसलाई दिवसमा मात्र सीमित नगरौँ 

मनिता धरेल

  • १२४१ दिन अगाडि
  • २०७८ जेठ २९ शनिबार

हामीले बालश्रम विरुद्धको अन्र्तराष्ट्रिय दिवस मनाइरहँदा नेपालको अवस्था भने त्यति सन्तोषजनक छैन । शिक्षा तथा सचेतनाको कमी , परम्परागत सोच, गरिबी, सहरप्रति मोह, साथीभाइको लहलहैमा, अनलाइन तथा सामाजिक सञ्जालको जथाभावी प्रयोग जस्ता कारणले गर्दा बालबालिकाहरु परिवारबाट बिछोडमा परिरहेका छन् ।

गएको ८ जुनमा सिविसले बालश्रम विरुद्धको अन्र्तराष्ट्रिय दिवसको सन्दर्भलाई पारेर झण्डै तीन दर्जन नेपाली पत्रकार तथा विज्ञहरु बीच एक भर्चुअल अन्र्तक्रिया गरेको थियो । महिला, बालबालिका तथा सामाजिक मुद्धाहरुमा सक्रिय रुपमा कलम चलाउँदै आएका सञ्चारकर्मी बीचमा नेपाली सञ्चार माध्यमले कसरी बालबालिकाका विषयवस्तुहरुलाई उठान गरेका छन् भन्ने विषयमा निक्कै महत्वपूर्ण छलफल सम्पन्न भयो ।

हरेक वर्ष दिवस तथा विभिन्न कार्यक्रम गरेर हामी बालबालिकाका अधिकारलाई स्थापित गर्ने कोसिस गरिरहेका छौं । तर, हामीले दिवस बाहेकका दिनहरुमा बालअधिकार तथा संरक्षणका विषयहरुमा कत्ति धेरै गम्भीर हुने गरेका छौँ त्यसमा घोत्लिनु पर्ने जरुरी भइसकेको छ । 

हामीले बालश्रम विरुद्धको अन्र्तराष्ट्रिय दिवस मनाइरहँदा नेपालको अवस्था भने त्यति सन्तोषजनक छैन । शिक्षा तथा सचेतनाको कमी , परम्परागत सोच, गरिबी, सहरप्रति मोह, साथीभाइको लहलहैमा, अनलाइन तथा सामाजिक सञ्जालको जथाभावी प्रयोग जस्ता कारणले गर्दा बालबालिकाहरु परिवारबाट बिछोडमा परिरहेका छन् । बिछोडमा परेका ती बालबालिकाहरु सडक तथा सहरमा आइसकेपछि विभिन्न खाले बालश्रममा पर्ने गरेका छन् ।

देशमा रहेको गरिबी छँदै थियो, त्यसमाथि विश्वव्यापी रुपमा फैलिएको कोरोना जस्ता महाविपत्तिहरु आइलाग्दा बालबालिकाहरु प्रत्यक्ष रुपमा प्रभावित भएका छन् । दैनिक रुपमा ज्यालादारी गरेर कमाएर खाने परिवारका बालबालिकाहरु झनै धेरै प्रभावित हुनपुगेका छन् । बाढी पहिरो तथा अन्यखाले विपद् आइलाग्दा सबैभन्दा बढी बालबालिका नै प्रभावित हुँदै आएका छन् ।

संविधान, कानुन, ऐन, नियमावली, विभिन्न गुरुयोजना तथा बालबालिका सम्बन्धी अन्य सरकारी तथा गैरसरकारी निकायहरुले सञ्चालन गरेका विविध कार्यक्रमहरुमा सबै खाले बालश्रम अन्त्य गर्ने भन्ने प्रतिबद्धताहरु जाहेर भएकै छन् । सरकारले विभिन्न अन्र्तराष्ट्रिय कानुन तथा फोरमहरुमा पटक पटक हस्ताक्षर तथा प्रतिबद्धताहरु जनाइरहेकै छ । भएका कानुन तथा नियमहरुलाई इमान्दारितापूर्वक पालना गर्ने हो भने समस्या कम हुँदै जानेमा विश्वस्त हुन सकिन्छ ।

यसबीचमा बालश्रम अन्त्य गर्ने सवालमा निक्कै राम्रा प्रयास भइरहेका र  सकारात्मक नतिजा पनि देखिएका छन् । राष्ट्रिय बालअधिकार परिषद्को सक्रियता र सरोकारवालाहरु बीचको एकता र सहकार्यले पनि बालश्रम अन्त्य गर्न निक्कै महत्वपूर्ण काम गर्दै आएको छ ।

आम सर्वसाधारण, निती निर्माता स्थानीय निकाय तथा सबै तह र तप्काका मानिसलाई सुसूचित गर्ने सञ्चार माध्यमसँग कसरी सहकार्य गर्न सकिन्छ यसका लागि छलफल चलाउनु जरुरी भइसकेको छ । बालबालिकाका सवालमा लेख्ने पत्रकार तथा लेखकहरुसँग विशेष दिनमा मात्र होइन, मासिक रुपमा अन्र्तक्रियात्मक कार्यक्रमहरु चलाउन जरुरी छ । 

सधैँ व्यस्त र हतारमा हुने सञ्चारकर्मीलाई हामी जस्ता बालअधिकार कै क्षेत्रमा काम गर्ने व्यक्तिहरुले ज्ञान, सूचना र छलफलहरु चलाएर हामी के काम गर्दै छौँ भन्ने जानकारी गराउने तथा त्यससँग सम्बन्धित सूचना तथा तथ्याङ्कहरु छरितो रुपमा उपलब्ध गराउन सक्यौँ भने बालबालिकाका बढीभन्दा बढी मुद्दाहरु सञ्चार माध्यममा प्रसारित हुनेछन् । जसले गर्दा नीति निर्माता तथा सरोकारवालालाई दबाब दिन सजिलो हुन्छ । 

हामी सबै मिली हातेमालो गरौँ र बालश्रम अन्त्यका लागि पहल गरौँ ।